November 12, 2025 6:54 pm
Capture
एजेन्सी:  ७५ प्रतिशत आयात विस्थापित गरेको नेपालमा उत्पादित फ्रेन्च फ्राइज अब अमेरिकी बजारमा पुगेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा स्थापना भएको फर्स्ट च्वाइस फुड्स प्रालिले उत्पादित ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु गरेपछि नेपालका उद्योगी र किसान दुवै उत्साहित भएका छन् ।

उद्योगका सञ्चालक कृष्ण पौडेलले मंगलबार मात्र ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेका दुई कन्टेनर भैरहवा भन्सार कार्यालयबाट कोलकातातर्फ प्रस्थान गरेको जानकारी दिए । यी कन्टेनर ५० दिनपछि अमेरिकी बजारमा पुग्नेछन् ।

‘यो केवल उद्योगको उपलब्धि होइन, किसानको पसिनाको सम्मान हो’ पौडेलले भने–‘नेपालका खेतमा पसिना बगाउने किसानको हातले फलाएको आलु अहिले अमेरिकाको बजारमा ‘मेड इन नेपाल’ लेखिएको फ्रेन्च फ्राइज बनेर पुग्दैछ ।’

पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले छोटो अवधिमै नेपालको फ्रेन्च फ्राइज बजारमा आफ्नो बलियो स्थान बनाएको हो । अहिले कम्पनीले नेपालमा खपत हुने कुल फ्रेन्च फ्राइजमध्ये करिब ७५ प्रतिशत बजार आयात प्रतिस्थापन गरेको र आगामी एक वर्षभित्रै सम्पूर्ण आयात विस्थापित गरेर नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने कम्पनीले लक्ष्य राखेको छ ।

दुई अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस उद्योगले अत्याधुनिक युरोपियन प्रविधि प्रयोग गरेर प्रति घण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमता राख्छ । कम्पनीले आलु प्रशोधनका लागि अत्याधुनिक कोल्ड चेन, प्याकेजिङ र क्वालिटी कन्ट्रोल प्रणाली पनि सञ्चालनमा ल्याएपछि यसको उत्पादनमा गुणस्तर पाएको जनाएको छ ।

फर्स्ट च्वाइस फुड्सले हालसम्म २६ जिल्लाका करिब ३५ हजार किसानलाई उद्योगसँग जोडेको छ । किसानसँगको सहकार्यबाट कम्पनीले वर्षेनी हजारौं मेट्रिक टन आलु खरिद गर्दै आएको छ । पौडेलका अनुसार, गत वर्ष मात्र उद्योगले २ हजार मेट्रिक टनभन्दा बढी आलु किसानबाट खरिद गरेको थियो ।

‘हामीले किसानसँग प्रत्यक्ष सम्बन्ध बनाएका छौं’ पौडेलले भने, ‘किसानलाई बीउ, मल, तालिम र प्रविधिक सहयोग उद्योगले नै गर्छ । उत्पादन पछि हामी खेतमै गएर आलु खरिद गर्छौं । किसानलाई बजारको चिन्ता गर्नुपर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *