एजेन्सी: अभिनेता खगेन्द्र लामिछानेले ७८ वर्षीय बाको जन्मदिन पहिलो पटक मनाइदिएका छन् । बडो दुःखले बाको जन्मदिन पत्ता लगाउन सफल भएको भन्दै आमाको पनि जन्मदिन पत्ता लगाउने काम जारी रहेको फेसबुकमार्फत बताएका छन् ।
तीनजना दाजु र तीनजना दिदीहरू सबैको जन्मदिन थाहा भए पनि बाको जन्मदिन थाहा नहुँदा आफूहरू निराश मात्रै हुने गरेको लामिछानेले बताएका छन् । लामिछानेका अनुसार बा र गाउँलेहरूलाई जन्मेको साल र महिना याद भए पनि दिन थाहा थिएन । बाका साथीहरू र आफन्तहरूलाई सोध्दा पनि पत्ता लगाउन सकिएको थिएन ।
‘यसपालि दशैंमा घर सफा गर्दा किराले खाइवरी धूलिसाथ भइसकेको चिना भेटियो । केही घण्टाको कठिन अध्ययन (किनभने चिना हेरेर पनि खासै बुझिने अवस्थामा अलि थिएन) पश्चात् थाहा लाग्यो असोज २२ गतेको दिन मेरो बा जन्मनु भएको रैछ,’ लामिछानेले लेखेका छन्, ‘यो कुरा थाहा पाएपछि मलाई व्यक्तिगत हिसाबले जीवनमा ठूलो सफलता मिलेजस्तो भयो । अब मैले हरेक वर्ष आश्विन २२ गते मेरो बालाई जन्मदिनको शुभकामना भन्न पाउने भएको छु । आमाको जन्मदिनको खोजी कार्य जारी छ !’