
एजेन्सी: नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनीबाट ध्वस्त पारेको केन्द्रीय कार्यालय भवन भोलि सरसफाइ गर्ने भएको छ।
प्रदर्शनकारीले आगजनी तोडफोड गरेर भग्नावशेष बनाएका भवन एक पटक सबैलाई देखाउने मनसायले आजसम्म जस्ताको तस्तै राखेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
उनले भने, ‘प्रदर्शनका क्रममा मुलुकका करिब एक सय व्यक्तिको ज्यान गएको, सयौँ घाइते भएका र सरकारी तथा निजी गरेर खर्बौँको सम्पत्ति क्षति भएको र सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्था भएकोले हामीले पनि पार्टीका साथीहरूले आफ्नो पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भन्ने मनसायले केही दिन शोक मनाउँदै पार्टी केन्द्रीय कार्यालयसम्म जस्ताको तस्तै राखेको थियौँ।
उनले भोलि नै सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्ने बताए। आइतबार दिउँसो १ बजेदेखि सरसफाइ गर्ने र पुनः शोकलाई शक्तिमा बदलेर उस्तै जोस जाँगर र उत्साहका साथ देश र जनताका लागि क्रियाशील हुने बताए।
उनले भने, ‘सामूहिक सरसफाइ कार्यमा सहभागी हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरू, कार्यालयका कर्मचारी साथीहरू सबैलाई (झाडु, कुचो, खालीबोरा, फोहोर उठाउने, बाल्टी, मास्क, पञ्जा) सहित सहभागी भई दिन हुन हामीले आग्रह गरेका छौँ।’