September 17, 2025 1:12 pm
Capture


एजेन्सी: विदेशीले नेपाल भ्रमणका लागि सबैभन्दा उपयुक्त समय सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मान्ने गर्छन् । होटल, ट्राभल एजेन्सी र गाइडहरू ‘व्यस्त’ हुने समय पनि यही रहेकाले यो अवधिलाई ‘पिक सिजन’ मानिन्छ ।

मुख्य सिजनमा लाखौँ पर्यटक नेपाल भित्र्याउन सरकारदेखि पर्यटन व्यवसायीसम्म लागिरहेका हुन्छन् । तर, यस वर्ष सिजनको शुरुमै पर्यटन क्षेत्रमा धक्का लागेको छ । पर्यटकलाई नेपालमा स्वागत गर्ने तयारीमा रहेकै बेला जेन जी आन्दोलन भयो । जुन आन्दोलनका कारण नेपालमा आउने पर्यटकहरू त्रसित मात्रै भएका छैनन् । आउने तयारीमा रहेकाहरू पनि बुकिङ रद्ददेखि सुरक्षाबारे तीव्र सोधीखोजीमा रहेको व्यवसायीहरूले बताएका छन् । आन्दोलनका दृश्यहरूले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पारेको बताएका छन् ।

उनीहरूका अनुसार यसले पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ । नेपालका होटल, ट्राभल एजेन्सी, ट्रेकिङ गाइडदेखि साना व्यवसायसम्म प्रभावित भएका छन् ।

केही अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । हालै हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले नेपालका लागि उडान रोक्यो । उडान स्थगित भएको सूचना टिकेटिङ एजेन्सीहरूलाई पठाएको र काटिसकेको टिकेट समेत रद्द गरेको छ ।

क्याथे प्यासिफिकले भदौ ३० गतेदेखि लागू हुनेगरी १५ दिनलाई नेपाल उडान रोकेको छ । जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधि घटेकाले उडान रोकेको ट्राभल एजेन्सीले जनाएका छन् ।

पर्यटकहरूले बुकिङ समेत रद्द गरिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्ष सागर पाण्डेले जानकारी दिए । उनले आन्दोलनपछि पर्यटकहरूले बुकिङ रद्द गर्नेदेखि नेपालका सुरक्षाको अवस्थाबारे सोधिखोजी गरिरहेको समेत बताए ।

अध्यक्ष पाण्डेले भने, ‘सिजनमै पर्यटक घट्ने चिन्ता थपिएको छ । नेपाल आउने पर्यटकहरूको बुकिङ अनुमानित २५ प्रतिशतले घटेको छ । अहिले धेरैजसो पर्यटकको फोन नेपालको सुरक्षाबारे आइरहेको छ । उनीहरूले नेपाल घुम्नका लागि कतिको सुरक्षित छ भन्नेबारे सोधीखोजी गरिरहेका छन् ।’

उनका अनुसार ‘नेपाल असुरक्षित छ’ भन्ने सन्देश दिन सकेमा पर्यटकहरू ढुक्कले नेपाल आउने सम्भावना देखिन्छ । अहिले व्यवसायीहरूले नेपाल सुरक्षित रहेको जानकारी दिन विभिन्न प्रचार-प्रसार र कार्यक्रमहरू गरिरहेका समेत उनले जानकारी दिए ।

नेपाल सुरक्षित रहेको सन्देश दिन आवश्यक

होटल संघ नेपाल, ट्रेकिङ एजेन्सीज एशोसिएसन लगायतका पर्यटन क्षेत्रका संघ-संस्थाले संयुक्तरूपमा पर्यटकलाई त्रसित नहुन आग्रह गर्दै ‘नेपाल अझै सुरक्षित गन्तव्य हो’ भन्ने सन्देश प्रवाह गर्ने अभियान सुरू गरेका छन् । भिडियो सन्देशदेखि विभिन्न कार्यक्रम तथा छलफल गरिरहेको नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले बताए ।

उनले भने, ‘हामीले पर्यटकलाई सकारात्मक सन्देश दिइरहेका छौँ । छोटो अवधिमा अप्रिय घटना भएपनि अहिले नेपालमा सुरक्षित नै रहेकोबारे पर्यटकलाई जानकारी दिएका छौँ । हामी अहिले नयाँ युगको खोजीमा छौँ ।’

जेन जी आन्दोलनका कारण सामान्यदेखि पर्यटक राख्नेसम्मका होटलहरुमा क्षति पुगेको छ । जेन-जीहरूले गरेको आन्दोलनको क्रममा देशभरका होटेलहरूमा ठूलो क्षति पुगेको हो ।

होटल संघको प्रारम्भिक विवरण अनुसार दुई दर्जन होटलमा क्षति पुगेको छ । जसमा करिब २५ अर्बको नोक्सानी भएको छ । प्रदर्शनकारीले काठमाडौं उपत्यकाका होटलसहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, तुल्सीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटलहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।

एक वर्षअघि मात्रै काठमाडौंमा सञ्चालन भएको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको संघले जनाएको छ । यससँगै देशभर करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको संघले जनाएको छ ।

प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटलका करिब दुई हजार कामदारको रोजीरोटी गुमेको प्रारम्भिक अनुमान गरिएको छ ।

होटल व्यवसायमा क्षति भएपनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने अध्यक्ष शाहले जानकारी दिए ।

उनले भने, ‘आन्दोलनबाट होटल क्षेत्रमा क्षति पुगेपनि हामी अझै विदेशी पाहुनाहरूको सेवामा कुनै कमि राख्ने छैनौँ । अझै हामी सयौँ पर्यटकलाई स्वागत गर्न सक्ने अवस्थामा छौँ ।’

तर, सुरक्षाबारे सोधीखोजी गर्ने पर्यटकहरूलाई सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको अध्यक्ष शाहले बताए । होटल संघका अध्यक्षको जस्तै तर्क राख्छन् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणी थपलिया । उनी पनि नेपाल सुरक्षित रहेको सन्देशलाई प्रवाह गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँछन् ।

पाटाका महासचिव नरेन्द्रदेव भट्ट पनि नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय गर्दै विदेशी पर्यटकको सुरक्षा प्राथमिकतामा ध्यान दिनुपर्ने बताउँछन् ।

सरकारले थाल्यो छलफल

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीहरुबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने विषयमा छलफल गरेको छ ।

पर्यटन बोर्डमा भएको छलफलमा पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि नीतिगत अड्चनहरू फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । यसका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनले बताए ।

उनले भने, ‘पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ ।’

सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् । यस घटनाले हामीलाई धेरै सिकाएको र सरकार गठनपछि कामहरू शुरू भएकोले नेपालमा आन्दोलन सेफल्याण्डिङ भयो भन्ने सन्देश विश्वभर पुगेको उनको भनाइ छ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउनका लागि ‘पर्यटन प्याकेज’ हरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताएका हुन् ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै पोखरामा रहेका र त्यहाँ आवागमन गर्ने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरेका छन् । ट्रेकिङ रुटहरू सुरक्षित रहेको साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरू भइसकेको लामिछानेले बताए । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकहरूलाई सहजीकरणको लागि तयार रहेको उनले आश्वस्त पारे ।

यसैगरी, पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले रिकभरीका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताएका छन् ।

‘हरेक संकटपछि नेपालको पर्यटन पुनरुत्थानमा पाँच-पाँच वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै रिकभरी गर्ने गरी काम गर्नुपर्छ’, सदस्य भण्डारीले भने ।

बोर्डले नेपालमा रहेका पाँच तारे र चार तारे होटेलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । उक्त छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीहरूले बताएका हुन् ।

उक्त छलफलमा अधिकांश होटल व्यवसायीहरूले पर्यटकहरूको स्वागतका लागि तयार रहेको जानकारी गराए । उनीहरूको सहज आवागमन र बसाइँका लागि राज्य निकायले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ । यसका लागि सामूहिक पहलमा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्ने दिशातर्फ काम गरिरहेका जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *