गएको वर्ष पुसदेखि फागुनसम्मका अढाई महिना काठमाडौँवासी बिखालु हावा खान बाध्य भए। तीमध्ये कतिको ज्यान गयो, कसैसँग तथ्यांक छैन।
२१ चैतमा ललितपुरस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार १७ पुसदेखि २९ फागुनसम्मका ७५ दिन काठमाडौँको वायु विषाक्त थियो। इसिमोडले प्रतिवेदन सार्वजनिक गरेकै दिन पनि उपत्यकाको वायु गुणस्तरले खतरनाक तह पार गरेको थियो। वातावरण विभागको मापन ‘ड्यासबोर्ड’ मा त्यस दिनको वायु गुणस्तर सूचकांक (एक्यूआई) भक्तपुर मापन केन्द्रमा सबैभन्दा बढी ३६५ अंकको तहमा पुगेको थियो। यो मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने स्तरको दूषित हावा हो।
घना र अव्यवस्थित बस्ती भएको काठमाडौँमा वायु प्रदूषण वर्षभरि नै भइरहन्छ। हिउँद लागेपछि भने कृषकले बालीनाली भित्र्याएर कृषि अवशेष जलाउने, सुक्खा खडेरीका कारण चारैतिर डढेलो बढ्ने, उद्योगधन्दा र निर्माणका गतिविधिहरू तीव्र हुने भएकोले पनि वायु प्रदूषण उच्च हुन्छ। पश्चिमी वायुको प्रभावले भारतको उत्तरी भेगबाट भौतिक संरचना निर्माण, सवारीसाधन तथा कलकारखानाका धुवाँ-धुलो नेपाल भित्रिने गरेको छ। त्यसले पनि वायु प्रदूषणको तह बढाउँछ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यो अवधि सामान्यतया मंसिरदेखि चैत अन्तिम सातासम्म रहन्छ। कचौरा आकारको काठमाडौँ उपत्यकाका बासिन्दाले हरेक हिउँदमा वायु प्रदूषणबाट सास्ती खेप्छन्। “प्राकृतिक रूपमा वायु सफा हुन हावा चल्नुपर्ने वा पानी पर्नुपर्ने हुन्छ, हिउँदमा हावा कम चल्छ, चारपाँच वर्षयता हिउँदमा पानी पर्न छोडेकाले प्रदूषणको मात्रा विगतको तुलनामा बढेको छ,” उनी भन्छन्। हिउँदमा चिसो हावा जमिनको सतह नजिकै अडिने भएकाले पनि हावामा दूषित कण थुप्रिन्छ।
यस वर्षको ११ मंसिरमा पनि काठमाडौँको वायु गुणस्तर अवस्थकर तहमा (१६८ एक्यूआईमा) पुगेको थियो। यससँगै विश्वकै प्रमुख १० प्रदूषित सहरको सूचीमा काठमाडौँ सातौँ स्थानमा रह्यो। यस वर्ष पनि काठमाडौँ तथा तराईका मैदानी भूभागमा चिसो, हुस्सु, शीतलहर र बिखालु हावाको हैरानी सुरु भइसकेको छ। हिउँदमा चिसोबाट बच्न प्लास्टिक तथा कागजजन्य फोहोर, टायर, पराल, छ्वाली, गुइँठा, कोइला आदि बाल्ने/जलाइने कारणले प्रदूषण झन् बढ्ने गरेको छ।
वायु प्रदूषणकै कारण बर्सेनि हजारौँ मानिसको अकालमै ज्यान गइरहे पनि सरकारले यसलाई नियन्त्रण गर्न न कुनै गम्भीर कदम चालेको छ, न नागरिकप्रति संवेदनशील नै देखिन्छ। बरु, वायु प्रदूषण नियन्त्रणकै नाममा १८ वर्षदेखि उपभोक्ताबाटै २६ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ शुल्क असुलिसकेको छ।
‘हटस्पट’ काठमाडौँ र मधेस
विश्व बैंकले गत असारमा सार्वजनिक गरेको रिपोर्टअनुसार काठमाडौँ उपत्यकासँगै भारतीय सिमानासँग जोडिएका मधेसका गाउँ तथा सहरहरू वायु प्रदूषणका ‘हटस्पट’ हुन्। पछिल्लो दशकमा यी ठाउँमा वायुको गुणस्तरमा सुधार देखिएको छैन। वायु प्रदूषण नियन्त्रण हुन नसकेका कारण जनस्वास्थ्यमा जटिलता थपिँदै गएको र जनजीवनमै प्रत्यक्ष असर परेको वायु गुणस्तरविज्ञ डा. भूपेन्द्र दास बताउँछन्।
काठमाडौँको वायुमण्डलमा पाइने सूक्ष्म दूषित कणमध्ये ६३ प्रतिशतको उद्गमथलो काठमाडौँ नै हो। यहाँ सडकको धुलोले वायुलाई दूषित बनाउन आठदेखि १२ प्रतिशत योगदान पुर्याउँछ। सुक्खा मौसम माघ-फागुनदेखि चैत-वैशाखसम्म देशभरि नै दोहोरिने डढेलोले पनि काठमाडौँको वायु दूषित पार्छ। तराईको वायुमण्डलमा पाइने कुल सूक्ष्म कणको ६७ प्रतिशत हिस्सा भारतबाट आउँछ।
वायुमापन विधि
हावाका ससाना कण वा तरल थोपाहरू (सूक्ष्म कण तथा ग्यास)को मात्रालाई वैज्ञानिक उपकरण प्रयोग गरेर वायु प्रदूषणको जाँच गरिन्छ। जसको नतिजा वायुको गुणस्तर सूचकांक (एक्यूआई) द्वारा मापन गरिन्छ। एक्यूआई भनेको हावामा हुने १० माइक्रोन (पीएम १०) र २.५ माइक्रोन (पीएम २.५) भन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोनको मात्राको मिश्रण हो। कतिपय यस्ता कणहरू सीधै स्रोतबाट निस्कन्छन् भने कतिपय चाहिँ वायुमण्डलमा तैरिरहेका बेला रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुन्छन्।
पीएम (पार्टिकुलेट म्याटर) सूक्ष्म कण हो। यी कण कपालको चौडाइभन्दा १० गुणा साना हुन्छन्। जुन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन्। पीएम २.५ माइक्रोस्कोप लगाएर मात्रै देख्न सकिने ज्यादै साना कण हुन्। यी कण सवारीसाधन, उद्योग, कलकारखाना तथा इँटाभट्टाको धुवाँ, दाउरा, घुर, कोइला, गुइँठा, छ्वालीजस्ता कृषि अवशेष बाल्दा र वन डढेलोबाट निस्कन्छन्। यी कण स्वास फेर्दा फोक्सोभित्रै प्रवेश गर्नेदेखि रगतसम्मै पुग्ने जोखिम हुन्छ। वायु गुणस्तरविज्ञ रेजिना मास्के ब्यान्जु भन्छिन्, “यसबाट फोक्सोको क्यान्सर, मुटु रोग, मस्तिष्कघातजस्ता गम्भीर स्वास्थ्य समस्या हुन्छ। पीएम १० को तुलनामा पीएम २.५ बढी नै खतरनाक हुन्छ, किनभने पीएम १० हाम्रो नाकको जालीसम्म आइपुग्छ, तर पीएम २.५ फिल्टर नभई शरीरभित्रै जान्छ।”
