एजेन्सी: लुम्बिनी प्रदेशबाट सुरु गरिएको स्वर्णप्राशन अहिले सबैतिर प्रभावकारी बन्दै गएको छ । संघीय सरकारले २५ जिल्लामा लागू गरेको यो अभियान लुम्बिनी प्रदेश सरकारले भने १२ वटै जिल्लामा लागू गर्नेगरी बजेट विनियोजन गरेसँगै तत्कालै सबै जिल्लामा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।
बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियान सबैभन्दा पहिले लुम्बिनी आयुवेर्दिक अस्पताल बिजौरी दाङबाट सुरुवात गरिएको थियो ।
त्यसपछि यसमा स्थानीयको चासो बढ्दै गएपछि संघीय सरकारले पहिलो चरणमा देशका २५ वटा जिल्लामा कार्यान्वयन गर्नेगरी अघि बढाएको हो । स्वर्णप्राशन बच्चा जन्मेको ६ महिनापछि ५ वर्षसम्म हरेक महिना नियमित रुपमा खुवाउने गरिन्छ ।
दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा.अर्जुनराज शर्माले लुम्बिनीबाट सुरु भएको यो अभियानमा तीन वर्षमा निकै धेरै संख्यामा सहभागिता भएकाले पनि यसको प्रभावकारी बढेको प्रमाणित भएको जनाए ।
‘यसको सुरुवात हामीले नै गरेका हौं, सुरुमा निकै कम संख्या थियो तर अहिले निकै चाप हुन्छ, नेपालगन्जबाट यसका लागि अभिभावकले बच्चा बोकेर दाङ आउनुहुन्छ, महिनाको एक दिन खुवाउने गरिएपनि निकै ठूलो संख्यामा सेवाग्राही थपिएको अवस्था छ, सयबाट अहिले ७ हजारसम्म संख्या पुग्न थालेको छ’ उनले भने ।
‘स्वर्णप्राशन’ के हो ? कुन उमेर समूहका बालबालिकालाई खुवाउने ? कसरी तयार गरिन्छ ? यसको मात्रा ? बारे स्वास्थ्यकर्मीले विशेष ध्यान दिनुपर्ने जनाए । बालबालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने डा. शर्माले बताए । ‘स्वर्णप्राशन’ कम्तीमा ३० मात्रासम्म खुवाउँदा राम्रो मानिन्छ । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खालि पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।
‘विज्ञहरुका अनुसार स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो ।
यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।आयुर्वेदको मूल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई ‘स्वर्णविन्दु प्राशन’ भनिन्छ ।
यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो ।
स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।
नेपालको आयुर्वेद चिकित्सामा यो औषधि राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको डा. शर्माले जानकारी गराए । ब्राह्मी र शंखपुष्पीजस्ता जडीबुटीहरूमा पाइने नूट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने उनले बताए।
६ महिनामुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने डा। शर्माले बताए । यस्तै बालबालिकालाई स्वर्णप्राशन खाने दिन ज्वरो, रुघाखोकी, आउँ, झाडापखाला, अरुची, पिनास, निमोनिया, खाना पचाउन समस्यालगायतका समस्या देखिएमा वा बिरामी भएमा अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन पनि डा. शर्माले सुझाव दिए ।
लुम्बिनी आयुर्वेद चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटा, आयुर्वेद चिकित्सक डा। योगेश ढकाल, कविराज विष्णुहरि आचार्यले स्वर्णप्राशन केवल परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन भएकाले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न सबैको साथ चाहिने बताए ।
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका कविराज निरीक्षक यमलाल भुसालले स्वस्थ जनशक्ति उत्पादनका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले यो अभियान सञ्चालनका लागि बुटवल उपमहानगरले आयुर्वेद चिकित्सालयसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।
लुम्बिनी आयुर्वेदिक अस्पताल बुटवलले आगामी बुधबारदेखि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गर्ने भएको छ। यो अभियान हाल विस्तारको क्रममा रहेको छ। सुरुमा तीनवटा अस्पतालमा मात्र लागू गरिएको यो कार्यक्रम अहिले देशभरका २५ जिल्लामा विस्तार हुँदैछ।
दाङको बिजौरी आयुर्वेदिक अस्पतालबाट सुरु गरिएको यो कार्यक्रम अहिले लुम्बिनी आयुर्वेदिक औषधालयमार्फत लुम्बिनी प्रदेशका सबै जिल्लासँगै अन्य स्थानहरूमा पनि सञ्चालन हुन लागेको हो। स्वर्णबिन्दु प्राशनले बालबालिकाको बौद्धिक विकाससँगै उनको शरीर मन र स्वास्थ्यको सर्वाङ्गीण उन्नति गर्न सहयोग गर्छ। यो आयुर्वेदिक परम्परामा आधारित औषधि हो जसमा सुन, मह र घिउको सन्तुलित मिश्रण प्रयोग गरिन्छ।
भारतका धेरै स्थानमा यसको प्रयोग धेरै समय अगाडिदेखि भइसकेको छ। तर नेपालमा भने तीन वर्षदेखि यो कार्यक्रम लागू भएको हो। स्वर्णबिन्दु जन्मेको छ महिनादेखि बालबालिकालाई दिन सकिने जनाइएको छ। स्वर्णविन्दुले छ महिनादेखि छ वर्षसम्मका बालबालिका लाई राम्रो प्रभाव देखाउने गर्छ। यसलाई ३० पटकसम्म नियमित सेवन गर्न आवश्यक हुन्छ तर बिचैमा छुटिहाले भने पनि यसले नकारात्मक प्रभाव भने पार्दैन।
आयुर्वेदिक मान्यताअनुसार स्वर्णबिन्दु केवल कुसे नक्षत्रमा मात्र सेवन गराइन्छ। यो औषधिले बुद्धि वृद्धि, पाचन शक्ति वृद्धि, बल, दीर्घायु, सौभाग्य र वाजीकरणमा सहयोग पुर्याउँछ। बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा बुधबारदेखि यो अभियान सुरु गरिएको कार्यालय प्रमुख डा. कलावती विश्वकर्माले जानकारी दिइन् ।