एजेन्सी: वर्षा र हिमपातका कारण अवरुद्ध बनेको ‘कबड्डी ५’को छायांकन पुनः सुचारु भएको छ । छायांकन अवरुद्ध भएको ३२ घण्टापछि चलचित्रको छायांकन पुनः सुचारु भएको अभिनेता विजय बरालले बताए ।
मुस्ताङको लार्जुङ क्षेत्रमा चलचित्रको छयांकन भइरहेको थियो । तर, गत सोमबार रातिदेखि मुस्ताङमा हिमपात र वर्षात् सुरु भएपछि छायांकन रोकिएको थियो ।
बरालले भने, ‘आजबाट हाम्रो चलचित्रको छायांकन सुरु भएको छ । करिब ३२ घण्टा रोकिनुपर्यो ।’
बरालका अनुसार चलचित्रको छायांकन भइरहेको भेगमा हिमपात र वर्षाको खास्सै प्रभाव छैन । माथि माथि हिमालहरु भने सेतै भएर हिउँले ढाकिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात शक्तिशाली भएर नेपालमा हिमपात र वर्षा गराएको हो । शुक्रबारसम्म वर्षा र हिमपात हुने विभागको पूर्वानुमान छ ।
‘कबड्डी ५’मा बराल, दयाहाङ राई, मिरुना मगर लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन रामबाबु गुरुङले गरिरहेका छन् । कबड्डी सिरिजका यसअघिका चारवटै श्रंखलालाई दर्शकले रुचाएका छन् ।