शनिबार अपराह्नको चहलपहलमा मिसिँदै हिँड्दा दुई हजार वर्ष पुरानो परम्परा बोकेको नगरमा घुम्दै छु भन्ने आभास पटक्कै हुँदैन। शिलालेखअनुसार नै पनि लिच्छविकालदेखि निरन्तर रहेको टोखा नगरको यस बाटोमा शनिबार गाडी बन्द छ, सब पैदल नै हुन्छन्। लहरै खानाका स्टलहरू हुन्छन्।
हाकुपटासीमा सजिएका बालाहरूको मुहारमा फैलिएको मुस्कानले अतिथिलाई निम्तो दिइरहेको हुन्छ- आउनुस्, हाम्रोमा खानुस् न। मुस्कानमा कृत्रिमता छँदै छैन। किनकि, उनीहरू व्यवसायी होइनन्। यहाँ खाना पकाउने र बेच्ने सबै महिला कि त गृहिणी हुन् वा कलेज पढ्ने किशोरी वा किसान वा हप्ताका अरू दिनमा अरू केही काममा व्यस्त हुनेहरू हुन्। यी सबै महिलालाई सबैको एउटै ध्येयले जोडेको छ, त्यो हो– आफ्नो खाना जोगाउने, रैथाने स्वाद जोगाउने।
टोखा नगर चाकुको नामबाट प्रसिद्ध छ। चाकुका लागि चाहिने उखु र त्यसको बारीलाई जोडिएर बनेको छ नेपालभाषा वा नेवारीको शब्द तु:ख्य। कालान्तरमा यही तु:ख्य अपभ्रंश हुँदै टोखा भयो भन्छन् किंवदन्ती सुनाउनेहरू। इतिहासकारहरू चाहिँ टोखालाई लिच्छविहरू काठमाडौँ आउनुअघिको सहर भन्छन्। कुलोलाई संस्कृतबाट नआएको मौलिक शब्द ‘तिलमक’ प्रयोग गरिएको शिलालेख पाइएकाले यो नगर किरातकाल वा दुई हजार वर्ष पुरानो परम्परा बोकेको नगर वा त्यसभन्दा अघि गुल्म हो भन्ने उनीहरूको विचार छ। तर, ती इतिहासका अभिलेखमा आमाहरूले पकाउने स्वादको कथा कतै उल्लेख छैन। यो अलिखित इतिहासलाई, हाम्रो स्वादको परम्परालाई आमाहरूले नै पुस्तान्तरण गर्दै गएका हुन्। आमाले छोरी-बुहारीलाई अनि उनीहरूले नातिनीहरूलाई, ठ्याक्कै लोकगीतको लयझैँ, एक पुस्ताबाट अर्को पुस्तामा सर्दै गएको हो- टोखाको खाद्य परम्परा। नेवा: गुठीमा सक्रिय मानिसहरूले टोखाको इतिहास, भाषा, संस्कृति र संस्कारको जगेर्नाका लागि मिहिनेत गर्न पर्यो। सात जनाको टोली बनाएर खटियो। त्यतिबेला आत्मनिर्भर नभएसम्म ऐतिहासिक बस्ती जोगाउन सकिँदैन भन्ने भयो। आत्मनिर्भरताका लागि नै खाजा महोत्सवको अवधारणालाई अगाडि बढाइएको गणेशमान श्रेष्ठ बताउँछन्।
अहिले टोखाको पाककला आम नेपालीहरूमाझ पस्कने काम हुन्छ, हरेक शनिबार त्यहाँ हुने खाजा महोत्सवमा। चिउरा, छोइला, भटमास, बोडी, लसुन, अदुवा, साग, आलु र अचारहरूको संगम समय्बजि खानुस् वा छोयला र चिउरा मात्र वा खानुस् चटामरी वा वः (आजभोलि बारा भन्न थालिएको दालको रोटी- मू वः (मासको बारा), माय वः (मुगको बारा)), तपाईंको जिब्रोमा आउने स्वादले दुई हजार वर्षदेखि चल्दै आएको परम्परालाई स्पर्श गर्ने रहेछ। जिब्रोलाई अझै रोमाञ्चक यात्रामा लान मन छ भने ख्वाग्वः म्य्, कचिला वा जँला पनि चाख्न सकिन्छ। अलिकति झोलिलो खाने मन छ भने मिक्वा (मेथी) तरकारी, आलुतामालगायत अनेकन् तरकारी उपलब्ध छन्। मातिने झोल खान मन छ भने टोखाका घरमै बनेको थ्वो (जाँड) वा अय्ला (रक्सी) पाइन्छ नै।
‘सिलबन्दी रक्सी र बियर चाहिँ बन्द गरेका छौँ,’ टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ भन्छन्।
टोखा महोत्सवमा पाहुनाहरू थपिँदै गएका छन्। पहिले भक्तपुरबाट ल्याएर जुजु धौ बेचिन्थ्यो। अहिले झोर र अझ पर नुवाकोटबाट दूध ल्याइन्छ र तयार पारिन्छ आफ्नै टोखा जुजु धौ।
सुरुमा अध्यक्ष गणेशमान श्रेष्ठको टोलीले खाजा होटलहरूलाई परिचालित गरेर खाजा महोत्सव चलाउन खोजेका थिए, तर उनीहरूले त्यतिको जोखिम उठाउन चाहेनन्। त्यसपछि स्थानीय बासिन्दाको भेला आयोजना भयो, दिदीबहिनीहरू तयार भए। समूह बनाइयो। अनि मेनु पनि बनाइयो। मूल्य पनि तोकियो, र मंसिर २०८१ देखि सुरु भयो– खाजा महोत्सव।
‘खाजा महोत्सवका लागि हामीसँग ३२४ जना दिदीबहिनी हुनुहुन्छ, अहिले आलोपालो गरेर चल्नुभएको छ अर्थात् एक हप्ता १५० जनाले महोत्सव चलाउनुहुन्छ, अर्को हप्ता अर्को समूहले। हामीलाई माया गरेर अझै धेरै पाहुनाहरू आउनुभयो भने ३२४ जना दिदीबहिनीलाई परिचालित गरेर स्टल थप्न सक्छौँ,’ गणेशमान श्रेष्ठ भन्छन्, ‘अबको योजना संगीतको हो। आमाहरूले गाउने गीतको लय र भाका पुस्तान्तरण गर्ने हो। त्यसका लागि आमाहरू र नातिनातिना पुस्ताहरूलाई सँगै राखेर सांगीतिक कार्यक्रम गराउने लक्ष्य छ।’
टोखाको मौलिक सांस्कृतिक बाजागाजाको धुनमा सायद चाँडै नेवारी खानाका परिकारको मजा लिन पाइनेछ अनि संस्कृति जोगाउने अभियानको हिस्सा बन्न पाइनेछ।
