February 13, 2026 5:03 am
Capture
एजेन्सी: नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनुकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ ।

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ । लिम्बू जातीले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूलदेवतालाई चढाउने परम्परा रहीआएको छ ।

किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णीमा अगाडि नै घर भित्रयाइसकेको हुन्छ । सप्रेका (ठूला–ठूला कोदो बाला) धानको बाला टिपेर चोखो पारी जाँड बनाउने गर्दछन् । लिम्बू समुदायका बिजुवा (पूजारी) घर बोलाएर कूलदेवतालाई चढाउने गर्दछन् । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । अन्नको भात पकाएर चढाउनुलाई चासोक भनिन्छ ।

याक्थुङचुम्लुङका जिल्ला अध्यक्ष हाङमाया लेक्षर्बोका अनुसार प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुलदेवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गर्ने गर्दछ । लिम्बू समुदाय आफ्नै मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेसा र जीवनशैली अपनाउँदै आएका छन् । कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रुपमा पनि रहेका छन् । लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको लेछर्बोले बताउँछन् ।

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी)पूजा उधौली याममा बालीनाली भित्रयाउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व (चाड) हो ।

किराँत याक्थुङचुम्लुङ ताप्लेजुङ शाखाका सचिव सरोज कङ्लिवा लिम्बूका अनुसार लिम्बू समुदायका ग्रन्थ मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किराँत याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तक अनुसार कृषियुग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा (सावा येत्हाङ)ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे । उनीहरू कुपोषण र अनेक रोगब्याधिको शिकार बन्न भए । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङ (कूलदेवता)सँग प्राथना गरे ।

यही प्राथनाले गर्दा नै उनीहरूले पेना÷माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैँया) तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए । यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर(घोरीया) बीउबिजन रोपी छरी अन्न फलाउन सुरु गरे ।

यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू(देवीदेवता)लाई चढाउने प्रचलन बसाले । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथनअनुसार माङ (देवतां)लाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको कङ्लिवा लिम्बूले बताए। आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने)जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

पहिला घर–घरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिकरूपमा यसलाई महान् उत्सवका रूपमा मान्न थालेको पाइन्छ । यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएका आफन्तजन तथा साथीभाइसँग भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ ।

चासोक तङ्नामको अवसरमा ताप्लेजङलगायत लिम्बू समुदायबसोबास गर्ने क्षेत्रहरुमा शुभकामना आदान–प्रदान तथा मौलिक गीत–सङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच गरी मनाउँने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *