एजेन्सी: रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुगेका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रष्ट देखिन्थ्यो ।
“सुरुमा त बेलायत जाने भनेपछि खुसीको सीमा थिएन, भिसा पनि लाग्यो, घरपरिवार र साथीभाइबाट पनि बधाई आएको थियो” उनले मलिनो अनुहारमा भने, “तर यहाँ आइपुगेपछि भने यहाँको अवस्था बुुझ्दा आङ् नै सिरिङ भयो, अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपियो । अब आई नै सकेँ, जे त होला । राम्रै होला भन्ने आशा गरौं ।”
आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्लुुभिथ्रीस्थित एक घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि कामको खोजी गर्ने हो उनको मनमा त्रासको तुुवाँलो मडारिएको छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन निकै मुस्किल भएको अनुभव सुनाइन् ।
“केही समययता विद्यार्थीका लागि काम पाउन निकै गाहे छ, बल्लबल्ल काम पाए पनि विश्वविद्यालय र कामको समय मिलाउन निकै सकस छ”, उनले भनिन्, “झण्डै एक वर्षअघि विद्यार्थी भिसामै बेलायत आएकी लक्ष्मीलाई बेलायत सरकारले बढाएको शुल्क र विद्यार्थीले काम पाउन भोग्नुपर्ने समस्या विकराल भएको अनुभव ताजै छ ।”
कार्की बेलायत पुगेकै दिन उत्रिएका अर्का विद्यार्थी सुुयोग गिरीले पनि आफूले यहाँ कोठा नपाएको भन्दै नेपाली विद्यार्थी इन युके समूहमा सहयोगको याचना गरेका छन् । उनले आफू पढ्ने क्याम्पसको नाम नै उल्लेख गरेर आफ्नो नम्बरसमेत राखेर सहयोगका लागि आग्रह गरेका हुन् । अर्का विद्यार्थी दीपक यादवले पनि सोही समूहमा आफूू भर्खरै आएको भन्दै बस्ने कोठाका लागि अपिल गरे ।
केही अपवाद छाडेर काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ । पहिलो कुरा कोठा पाउनै सकस, त्यसपछि कमाएरै क्याम्पसको शुल्क तिर्ने र बेलायत आउँदा लागेको खर्च पनि केही महिनामै उठाउने सोच बोकेर यहाँ आइपुगेका विद्यार्थीहरु मानसिक स्वास्थ्यको शिकार पनि बन्ने गरेका छन् ।
एक महिनाअघि सेप्टेम्बर इन्टेकमा बेलायत आइपुगेका प्रितम् गिरी आफ्नो बर्मिङ्घमस्थित कलेज नजिकै बस्दै आएको कोठा महङ्गो भएकाले छोडेर उल्भरह्याम्टन सरे। ‘‘कोठा भाडा महङ्गो छ, त्यसमाथि काम पाइँदैन । घरबाट मगाएर कतिन्जेल टार्ने’’ उनले भने ।
उनी पनि कामको खोजीमा छन् । केही दिन पहिलेदेखि उनले एक रेस्टुरेन्टमा ‘क्यास इन ह्यान्ड’ काम थाले पनि प्रतिघण्टाको पारिश्रमिक एकदमै कम छ । उनले पनि विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टा काम अझै पाएको छैन । वार्षिकरुपमा बढ्दो चर्को विश्वविद्यालयको शुल्क, शैक्षिक परामर्शदाताले दिलाएका झुठा आश्वासन, परिवारप्रतिको दायित्व, भाषा र भौगोलिक ज्ञानको अभावजस्ता कारण पनि कतिपय विद्यार्थी तनाव र डिप्रेसनसम्मको समस्या सामना गर्न बाध्य छन् ।
नेपाली समाज वेष्टमिड्ल्याण्डका अध्यक्ष भीम शर्माको अनुभवमा आवश्यक तयारीबिना विद्यार्थी बेलायत आउने भएको कारणले समस्यामा बढ्दै गएको छ । “बेलायत आउनुअघि हुनुपर्ने आधारभूूत ज्ञानको अभावमा नेपाली विद्यार्थी धेरै समस्यामा पर्ने गरेका छन्”–उनले भने, “सकेसम्म समस्या नदेखाउने र हार खाने अवस्थामा पुगेपछि सामाजिक सञ्जाल र नेपाली समूहमा हारगुहार गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।”