सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले पहिलोपटक सिट निर्धारण गरी स्वीकृति दिएको छ । यससँगै गेटामा रहेको विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने बाटो खुलेको छ ।
विश्वविद्यालयमा यसै नयाँ शैक्षिक सत्रदेखि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याबोरेटरी टेक्नोलोजी ९एमएलटी० मा १० र बी अप्टोमेट्रीमा १० गरी कुल ९० विद्यार्थीलाई अध्ययन गराउन अनुमति प्राप्त भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटमा भर्नाका लागि कात्तिक १४ देखि १८ गतेसम्म तोकिएका केन्द्रमा एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने जनाइएको छ । प्रवेश परीक्षा र भर्नासम्बन्धी विस्तृत विवरण भने आयोगको आधिकारिक सूचनामा उल्लेख छ ।
विश्वविद्यालयमा आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र कानुनी मापदण्ड पूरा गरेपछि चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले बताए । ‘आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र कानुनी मापदण्ड पूरा गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति पाएसँगै एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ चन्दले भने ।
चिकित्सा शिक्षा अध्ययनका लागि सुदूरपश्चिमका विद्यार्थीले समेत प्रदेशबाहिरका शैक्षिक संस्थामा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न र देश विदेशबाट अध्ययनका लागि आउने विद्यार्थीहरूका लागि विश्वविद्यालयमा सुरु हुन लागेको पठनपाठन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । यद्यपि, विद्यार्थीले पाउने वास्तविक अवसर, अध्ययनको गुणस्तर र कार्यक्रमको निरन्तरताका लागि आवश्यक शैक्षिक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन महत्त्वपूर्ण हुनेछ ।
विश्वविद्यालयले चिकित्सा शिक्षाको पठनपाठनसँगै अस्पतालको सेवा र क्षमता विस्तारलाई पनि अघि बढाएको छ । चिकित्सा शिक्षा ऐनअनुसार गेटामा ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ । अस्पतालको क्षमता बढाएर ५०० शय्या पुर्याउने प्रक्रिया पनि अघि बढाइएको छ । विश्वविद्यालयका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकमार्फत ५० भन्दा बढी प्रकारका स्वास्थ्य सेवा उपलब्ध भइरहेका छन् । दैनिक ४०० देखि ५०० जनासम्म बिरामीले अस्पतालबाट उपचार सेवा लिने गरेका छन् ।
अस्पतालको सेवा विस्तार र चिकित्सा शिक्षाको पठनपाठनलाई प्रभावकारी बनाउन थप उपकरण तथा आवश्यक जनशक्ति व्यवस्थापनको काम तीव्र पारिएको रजिस्ट्रार चन्दले बताए । ‘अहिले अस्पतालमा विशेषज्ञ चिकित्सकबाट ५० भन्दा बढी सेवा प्रदान भइरहेका छन् । दैनिक ४०० देखि ५०० बिरामीले उपचार सेवा लिइरहेका छन्,’ चन्दले भने, ‘अस्पतालको क्षमता विस्तारसँगै थप उपकरण र जनशक्ति व्यवस्थापनको काम पनि अघि बढाइएको छ ।
