त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले विशेष परिस्थितिका मधेश प्रदेशका ११ वटा क्याम्पसमा एमबीएसअन्तर्गत मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा स्थगित गरेको छ ।
त्रिवि डिन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार पूर्वनिर्धारित परीक्षा तालिकाबमोजिम शुक्रबार सञ्चालन हुने उक्त विषयको परीक्षा सम्बन्धित केन्द्रमा मात्र अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। स्थगित भएको विषयको परीक्षा तालिका पछि यथाशीघ्र सार्वजनिक गरिने जनाइएको छ।
अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने र सम्बन्धित क्याम्पसबाट जानकारी लिन परीक्षार्थीलाई आग्रह गरिएको छ।
स्थगित गरिएका परीक्षा केन्द्रमा जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीको बलाही क्याम्पस र जनज्योति बहुमुखी क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस र जेएस मुरारका बहुमुखी क्याम्पस, सप्तरीको श्री महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस र नेसनल पिपुल कलेज, रौतहटको जनज्योति बहुमुखी क्याम्पस र गौरिशंकर यादव रौतहट क्याम्पस, बाराको सिमरा कलेज तथा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस रहेका छन्।
